ऊ मलाई युरोपको
धाक लगाउँछ,
निभ्न लागेको म
भित्रको अागो जगाउँछ,
हो म पक्कै
खाडीमा छु,
कर्तव्य बोध
पालना गर्दै,
जिन्दगीको लहरे
गाडीमा छु ।
ऊ मनको मैलो
लुकाएर,
सुकिलो लुगा
लगाउँछ,
अाडम्बरी खोल
ओडेर,
म भन्दा बढी पसिना
बगाउँछ,
ऊ छाती फुलाउँछ
अनि सान देखाउँछ ।
गाउँको झुत्रे
युरोप पसेपछि,
ऊ ठुलो महलमा
बसेपछि,
खै चटक्कै
बिर्सिएर चिन्दिन भन्छ ।
दुईचार हँसिलो
तस्बिर टाँस्दैमा,
हल्का मुस्कुराएर
हाँस्दैमा,
केही पाएकै छौ
भन्ने लाग्दैन,
भो किन धाक
लगाउँछौ ?
हो पक्कै तिमी
धेरै कमाउँछौ
हरेक छुट्टीमा
बेहिसाब रमाउँछौ ।
तर पनि
तिमी भित्र
रन्किएको आगो
मेरो जस्तै छ,
तिमीले नि मैले
जस्तै दुख भोगेको छौ,
हरेक पटक आफ्नो
मलिकलाई ढोगेको छौ,
चिन्नेले चिनिसके,
किन्नेले किनिसके,
अब फुर्ती नलगाऊ,
दुईचार हँसिलो तस्बिर टाँस्दैमा,
हल्का मुस्कुराएर हाँस्दैमा,
केही पाएकै छौ भन्ने लाग्दैन,
भो किन धाक लगाउँछौ ?
0 comments:
Post a Comment