स्वाइनफ्लुबाट काठमाडौंमा एक महिलाको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसको आइतबार मात्रै पुष्टि गरेको छ । मृतक महिलाको परिचय गोप्य राखिएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै महाशाखा प्रमुख बाबुराम मरासिनीले भने, ‘उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको जानकारी आएको छ ।’
मोडल अस्पतालका चिकित्सकले सेकेण्डरी अवस्थामा पुगिसकेकोले ति महिलालाई बचाउन नसकिएको बताएका छन् । रुघा लाग्ने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या भएपछि उनलाई १५ दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
गत विहीबार ति महिलामा स्वाइन फ्लु एचवान एनवान पुष्टि भएको थियो । त्यसलगत्तै स्वास्थ्य मन्त्रालयलाई खबर गरिएको थियो । स्वाइनफ्लुको उपचार गर्ने विशेष कक्ष नभएको भन्दै मन्त्रालयले पाटन अस्पतालमा लैजान सुझाव दिएको थियो ।
तर, पाटन अस्पतालमा आईसीयू खाली नभएको जवाफ आएपछि उनलाई मोडल अस्पतालमै राखेर उपचार जारी राखिएको थियो । ति महिलाको उपचारमा संलग्न मोडल अस्पतालका चिकित्सकले भने, ‘पाटनबाट आईसीयू खाली नभएको खबर आएपछि यहीँ राखेर उपचार गर्दै थियौं, तर सेकेण्ड स्टेजमा पुगिसकेकोले उपचार गर्दागर्दै मृत्यु भयो ।’
भारतमा महामारीको रुपमा फैलिएको स्वाइनफ्लु विरुद्धको औषधि र उपकरण नेपालमा अभाव छ ।
एकप्रकारको रुघा जस्तो रोग स्वाइनफ्लु एच वान एन वान भाइरसबाट सर्दछ । यसको संक्रमण भएमा रुघाखोकी लाग्ने, टाउको दुख्ने, उच्च ज्वरो आउने, स्वासप्रश्वासमा समस्या हुने, खाना खान मन नलाग्ने, पखाला लाग्ने लगायतका समस्या देखा पर्दछ ।
रुघाखोकी लाग्नेवित्तिकै सामान्यरुपमा नलिन र उपचार गराइहाल्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
- See more at: http://www.onlinekhabar.com
0 comments:
Post a Comment