विदेशमा रहेका नेपालीले एमआरपीको फारम चाँडै भर्नु पर्ने

विदेशमा रहेका नेपालीले एमआरपीको फारम चाँडै भर्नु पर्ने


उमाकान्त पाण्डे/उज्यालो । युएई (आबुधाबी),  पुस २५ - मेसिन रिडेबल पासपोर्ट एमआरपीको आवेदनका लागि ढिलो नगर्न खाडीमा रहेका नेपाली दुतावासहरुले आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयले बिदेशमा रहेका दुतावास तथा नेपाली समुदायसँगको सहकार्यमा त्यहाँ टोली नै पठाएर आवेदन संकलनको तयारी अघि बढाएपनि टोली आउने आशामा फारम नभरी नबस्न यएईसहित, कतार, साउदी, ओमन, बहराइन, कुवेतस्थित दूतावासहरूले आग्रह गरेका छन् ।
तोकिएको समय(सीमाभित्र हस्तलिखित राहदानीलाई प्रतिस्थापन गरी एमआरपी दिलाउने चुनौती दुतावासलाई थपिएको छ । २४ नोभेम्बर २०१५ पछि हस्तलिखित राहदानीले मान्यता नपाउने हुँदा सबैले यो समय अघि नै एमआरपी बनाउनु अनिवार्य छ ।
आबुधाबीस्थित नेपाली दुतावासले पटक पटक सूचना जारी गर्दै भनेको छ ‘भिसाको लागि कम्तीमा ६ महिना बहाल अवधि रहनुपर्ने नियमको कारणले अर्को देश जानु पर्ने तथा भिसा नविकरण गर्नु पर्नेहरुले मे मा नै एमआरपी हात पारिसक्नु पर्ने छ । ‘घुम्ती टोली आउँला र एमआरपी बनाउँला भनेर बस्नु भएको छ भने कृपया त्यसो नगर्नुहोस ।’ दुतावासका द्वितिय सचिव कृष्ण अर्याललेउज्यालो अनलाइनसँग भन्नुभयो ‘घुम्ती टोली आउने नआउने ठेगान छैन । त्यसैले समयमै सचेत बनेर दुतावासमार्फत एमआरपीका लागि आवेदन दिनुहास ।’ एमआरपीका लागि नेपाली रहेका ठाउँमा घुम्ती टोली आउने खबर आफूले सञ्चार माध्यमबाट थाहा पाएको छ तर त्यसबारे दुतावासलाई अहिलेसम्म जानकारी नभएको उहाँले बताउनुभयो ।
सन् २०१० डिसेम्बरभित्र एमआरपी जारी गर्नुपर्ने बाध्यकारी नियम थियो । तर लाखौं नेपाली बिदेशमा रहेको र काठमाडौंबाट मात्रै एमआरपी बनाउने अवस्थामा सन् २०१० मा नै हस्तलिखित राहादानी प्रतिस्थापन गर्न नसकिने भएपछि आईकाओसँग ५ वर्षको समय थप माग गरेर नेपालले २४ नोभेम्बर २०१५ सम्म सबै हस्तलिखित राहदानी विस्थापित गर्ने भनेको थियो ।
गत महिनाको अन्तिम साता युएईस्थित नेपाली दुतावासले सक्दो छिट्टो आवेदन दिन आग्रह गर्दै सुचना समेत जारी गरेको थियो । अबको दस महिनापछि हस्तलिखित राहदानी बोकेका सबैको हातमा एमआरपी हुनु पर्नेछ त्यसर्थ छिट्टो आवेदन दिन दुतावासले आग्रह गर्दै आएको छ ।
युएईका नेपाली राजदुत धनन्जय झाले फारम संकलनका लागि टोली आएर मात्र समस्या समाधान नहुने बताउँदै अाउनु भएको छ । उहाँले टोलीकै भरमा मात्र नबस्न आग्रह गर्नुभयो । टोली आएपनि टोलीले सबै फारम संकलन गरेर काठमाडौं लगेर एमआरपी प्रिन्ट गर्न थप समय लाग्ने हुँदा टोली खटिँदैमा समस्या समाधान नहुने बताउनुभयो ।
‘सरकारले उचित बजेट र कर्मचारीको ब्यबस्था गरिदिए दुतावास मै प्रिन्ट गरेर राहदानी दिन सकिन्छ ।’ झाले उज्यालो अनलाइनसँग भन्नुभयो ‘कम्तीमा दुई बर्षसम्म दुतावासमै राहदानी प्रिन्ट गर्न सकिए खाडीमा कार्यरत सबै नेपालीको हातमा एमआरपी पुग्नेछ ।’ दुतावासले फारम संकलन गरेर पठाएका व्यक्तिको त एमआरपी आउन महिँनौं लाग्ने गरेको भन्दै उहाँले एमआरपीको प्रिन्ट गर्ने क्षमता बढाउनु पर्ने बताउनुभयो ।

Source : http://ujyaaloonline.com
Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment