यसरी पलपल तड्पाएर नराख न भुइँचाली माया.......
....त्यो दिन २०७२ सालको बैशाखको महिना १२ गते थियो, शनिबार परेकोले ढिलो खाना खाएर, पोखरा जान लाग्नुभएकी भाउजुलाई बस चाडउन बसपार्क जाँदै थियौ । १२ बजेको साइतमा तिमी एक्कासि दौडिदै आयौ....हाम्रो नजर जुध्यो। प्रथम नजरमै तिमिले मुटुमा चसक्क पारेर गयौ, करिब एक घन्टा पछि पुनः कर्के नजरले हानेर गएपछि लाग्यो, फेरि तिमीसंग भेट हुँदैन होला......रातभरि तिम्रै बाटो हेरेर बसे। भोलिपल्ट 13 गते मध्याह्न 1 बजे " आइ किल यु " भन्दै फेरि तिमी आयौ, अनि तिम्रो दिनहुुँको मिस्कलले हाम्रो प्रेम झन्झन् गाढा हुँदै गयो। तिम्रो हरेक दिन मिस्कल आउने क्रम जारी थियो, त्यसैले टाढा भएपनी तिमिलाइ भुल्न सकिरहेको थिइन.....तर मितिले मिस्कल कमकम पार्दै गयो.... मलाई लाग्यो तिम्रो ब्यालेन्स कम हुँदै गयो होला, तर तिम्रो माया कहाँ कम हुनु नि...तिमी त 29 गते 1 बज्नै लाग्दा फेरि भेट्न दौडदै आए पश्चात्...... तिम्रै यादमा बहुलाउदै घरै छोडेर हिडेको छु, कहिले त्रिपाल मा बसेको छु, कहिले कहाँ छु भन्ने आफैंलाई पत्तो छैन। कसैले आयो भन्ने बित्तिकै" तिमी नै आयौ कि भनेर दौडिन्छु, खाटमा बसेका बेला कसैले खुट्टा हल्लाउँदा होस् ....या फेरि मोटरसाइकल घुइँकिदा होस तिमी नै आयौ कि भनी भाग्छु। म कोमल बिस्तारा छोडेर चौरमा सुत्ने भइसकेको छु.....न खाएको चाल पाँउछु न हिडेको मेसो पाँउछु। धेरै बेर भयो आएकी पनि छैनौ, मिस्कल पनि गरेकी छैनौ। के साच्चै तिमी अब आउँदिनौ? ठिकै छ तिमी आफ्नो बाटो लाग...म आफ्नो बाटो लाग्छु.....तर कृपया नआउने भए, आउँदिन त भनिदेउ" यसरी पलपल तड्पाएर नराख न भुइँचाली माया.......
0 comments:
Post a Comment