मसँग धरहरा बनाउन गुहार नमाग


मसँग धरहरा बनाउन गुहार नमाग



 

म भन्दिनँ–

प्रधानमन्त्री, ढुंगा बोक्न आऊ !


राष्ट्रपति, माटो मुछ्न आऊ !

मन्त्रीहरू, काठ चिर्न आओ !

सभासद्हरू, गारो लाउन आओ !

नेताहरू, तजबिज मिलाउन आओ !

मेरो घर बनाउन

यो देशका ठूला मान्छे कसैलाई गुहार्दिनँ म

न गुहार्छु भारत, चीन र अमेरिकालाई

म आफ्नो घर बनाउन जग खनिरहेको छु

मसँग धरहरा बनाउन गुहार नमाग

किन मान्दैनौ तिमी

मेरो घर सबैभन्दा प्राचीन सम्पदा हो

मेरा पुर्खाका हजारौँ वर्षका

दु:खका गाथा

खुन, पसिना र आँशुका कथा

र संघर्षको इतिहास कुँदिएका छन्

यी एक–एक ढुंगामा

मेरो दु:खको विरासतभन्दा

कति पुरानो हो तिम्रो धरहरा ?

देशको सान धरोहर हो कि

मान्छे ?

देशको शृंगार टुँडाल हो कि

मान्छेको मुस्कान ?

देशको अभिमान मूर्ति हो कि

जिउँदोजाग्दो मान्छे ?

देशको सर्वस्व गजुर हो कि

मान्छेको शिर ?

देशको सम्पदा तेलिया इँट हो कि

धुस्रो मान्छे ?

म आफ्नो घर बनाउन जग खनिरहेको छु

मसँग धरहरा बनाउन गुहार नमाग

मलाई बनाउनु छैन मिनार

देखाउनु छैन तुजुक

म आफ्नै दु:खका सिँढीहरू चढेर

पुग्नेछु उचाइमा

म आफ्नै वेदनाको बार्दली चढेर

नियाल्नेछु संसारलाई ।  


म आफ्नो घर बनाउन जग खनिरहेको छु

मसँग धरहरा बनाउन गुहार नमाग ।।।



Share on Google Plus

About Dinesh Lamichhane

आफ्नो परिचय खोज्नको लागी भौतारिरहेको एक आम मान्छे । भाग्यमा भन्दा कर्ममा बिश्वास गर्छु । परिचय सँगै जिवन लाई पनि बुझ्दैछु, र आफुलाई खुशी राख्ने सक्दो कोसिस गरिरहेको हुन्छु । नयाँ नयाँ ठाँउहरु घुम्न धेरै मन पर्छ । अँ कहिले काँहि मनमा लागेजति कुराहरु लेख्ने गर्छु र लेखेको कुराहरु यहि राखेको हुन्छु । हेरेपछी सुझाव दिन नबिर्सनुहोला ।

0 comments:

Post a Comment